May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट हुने

बिज संजाल संवाददाता
२०७८ चैत्र २८

बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आइपीओ बाँडफाँडको लागि मंगलबारको दिन तोकेर धितोपत्र बोर्डमा आज रिपोर्ट पठाएको बिक्री प्रबन्धकले जनाएको छ । तर बोर्डबाट अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकको भनाई छ । यसको प्री–अलोटमेन्ट भने शुक्रबार सम्पन्न भइसकेको छ ।

यता, यस कम्पनीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा १५.७६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ६६ हजार ३४५.३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।

बलेफीले चैत १६ गतेबाट २१ गतेसम्म सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको हो । कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५% अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो ।