May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस अब तत्कालै आउने आईपीओहरु मितिसहित

बिज संजाल संवाददाता
२०७८ माघ १६


लामाे समयकाे अन्तरालपछि फेरि साधारण सेयर आईपीओहरु छिट्टै नै बजारमा आउँदैछ ।

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले ६ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति दिएकाे छ । यसअघि अध्यक्षकाे नियुक्ति नहुँदा राेकिएका आईपीओहरूलाई अब भने बाेर्डले अध्यक्षकाे नियुक्ती नभए पनि अनुमति दिएकाे हाे ।

लामाे समयदेखि आईपीओ राेक्का हुँदा कम्पनीहरूकाे पुँजी वृद्धि राेकिएकाे भन्दै लगानीकर्ता, निजी क्षेत्र एवमं अन्य सम्बन्धित निकायहरूले बाेर्डलाई आईपीओ निष्कासन गर्न अनुमति दिन दबाब दिँदै आईरहेका थिए ।

अनुमति पाएका ६ वटा कम्पनीमध्ये एउटा कम्पनीले आईपीओ निष्कासनकाे मिति समेत ताेकिसकेकाे छ

१. जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ ।

बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।आईपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २ सय २० कित्ताको लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

२. नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।

३. राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले याे कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

४. बलेफी हाइड्रोपावर लिमिटेड

बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

५. ग्रीन भेन्चर लिमिटेड

ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

६. इमर्जिङ्ग नेपाल लिमिटेड

इमर्जिङ्ग नेपाल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक सय रूपैयाँ अंकित दरको ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्नेछ ।

कम्पनीले यसअघि नै निष्कासन तथा बिक्रीका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेकाे छ ।