May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

मध्य भोटेकोशीको आरटीएसमा ग्लोबल आइएमई क्यापिटल नियुक्त , हेर्नुहोस कति र कहिलेबाट आउला कारोबारमा

बिज संजाल संवाददाता
२०७८ मंसिर ३

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार (आरटीएस) मा नियुक्त गरेको छ।यस सम्बन्धमा बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको केन्द्रीय कार्यालयमा भएको ए कार्यक्रममा कम्पनी र क्यापिटलबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्झौताभएको कम्पनीले जनाएको छ ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसणि ढकालले हस्ताक्षर गरेको उल्लेख गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको मध्य भोटेकोशी कम्पनीको अधिकृत पुँजी रु. ६ अर्ब २१ करोड तथा जारी पुँजी रु. ६ अर्ब रहेको छ।

गोलाप्रथामार्फत ८ लाख १९ हजार जना सर्वसाधारणलाई १० कित्ताका दरले बाँडफाँट भएको आईपीओ मा कुल २३ लाख ९० हजार २१८ जनाले आवेदन दिएकामा ९५ हजार ७२२ जनाको आवेदन रद्द भएको थियो । आवेदन दिएका २२ लाख ९४ हजार ४९६ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने भएको छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ९४ रूपैयाँ ३९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ८३ रुपैयाँ १७ पैसा हुन्छ ।

आगामी साताभित्रै मध्य भोटेकोशीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ढकालले बताए। धितोपत्र दोस्रो बजारमा सेयर कारोबार पनि आगामी सातामैबाटै आउन सक्ने सम्भावना रहेको छ।