May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

खुल्यो न्यादी हाइड्रोको आईपिओ हेर्नुहोस कसले कसले भर्न पाउने

बिज संजाल संवाददाता
२०७८ भाद्र १

न्यादी हाइड्रोपावरले आज भदौ १ गतेदेखि आईपिओ निष्काशन बिक्रि निस्काशन गरेको छ । कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । न्यादीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको छ ।

यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरको लागि आवेदन दिन सकिने जनाएको छ । आवेदन दिनको लागि छिटोमा भदौ १५ गतेसम्म आबेदन दिनुपर्ने छ र ऊक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक को जिम्मा दिएको छ ।

न्यादीले मङ्सिर १० गते शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन ११ गते अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणको लागि ४० करोड ५० लाख बराबरको ४० लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।जस मध्ये २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।

न्यादीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी असोज १ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । यस आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ११ करोड ७० लाख ५५ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २० करोड ३९ लाख २५ हजार १६८ रुपैयाँ रहेको छ ।